काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्। काठमाडौँ बुढानीलकण्ठ क्षेत्रबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका हुन्।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। काठमाडौं जिल्ला अदालतले वैशाख २१ गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएका बेला गृहजिल्ला अर्घाखाँची रहेका उनी त्यहाँबाट हिँडे पनि बुटवल आएपछि सम्पर्कविहीन भएका थिए।
नक्कली शरणार्थी प्रकरणमै पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझीको संलग्नता खुलाएपछि प्रहरीले उनलाई खोजेको थियो। रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध यसअघि नै पक्राउ परिसकेका छन्। यही प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गते पक्राउ परेका छन्।
यता यसै प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका खाणसहित १२ जनालाई थप ४ दिन प्रहरी हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै उनीहरुलाई थपका लागि आइतबार दिउँसो अदालतमा उपस्थित गराएको थियो।
यो प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका थिए। त्यस्तै, बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पनि पक्राउ परेका व्यक्ति हुन्। पैसा आदानप्रदानमा सहयोग गर्ने रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।
पूर्वउप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र डा इन्द्रजित राईका छोरा निरज हालसम्म पनि फरार छन्। पक्राउ पुर्जी जारी भएका थप व्यक्ति फरार रहेको प्रहरीको भनाइ छ।
यसै प्रकरणमा आजै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ परेका हाई प्रोफाइल
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी
पूर्वगृहमन्त्री बालकृष्ण खाड
खाणका पीए नरेन्द्र केसी
नेपाल सरकारका सचिव टेकनारायण पाण्डे
तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी
बिचौलियाहरू: केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ राई, रामशरण केसी, गोविन्द चौधरी
फरार को को?
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा
डा इन्द्रजित राईका छोरा निरज राई
केशव तुलाधर
हरिभक्त महर्जन
लक्ष्मी महर्जन
कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा
