सिरियाका लागि ८ डिसेम्बर २०२४ ठूलो वदलाबको दिन बन्यो। इस्लामी चरमपन्थी विद्रोहीले अलेप्पो, हमा र होम्स सहरपछि राजधानी दमास्कस पनि कब्जा गरे।
यसपछि विद्रोहीहरूले सिरिया बसर अल असदको शासनबाट मुक्त भएको घोषणा पनि गरे। निरंकुश राष्ट्रपति असद देश छोडेर भागेको र देश अब स्वतन्त्र भएको उनीहरुको दाबी छ।
तीव्र रूपमा विकास भइरहेका घटनाक्रमका बीच प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले उनी नेतृत्वको सरकार विद्रोहीसँग मिलेर काम गर्न तयार भएको घोषणा गरे।
एक हप्ता अघि नै जब विद्रोहीहरूले सिरियाको उत्तर-पश्चिममा इडलिबमा रहेको आफ्नो आधारबाट आफ्नो अचम्मको अभियान सुरु गरेका थिए, त्यतिबेलासम्म सिरियामा कसैले बसर अल-असदको पतनको बारेमा सोचेको पनि थिएन।
बसर अल-असद सन् २००० मा आफ्ना बुबा हाफेज अल-असदको मृत्युपछि सत्तामा आएका थिए। हाफेजले सिरियामा २९ वर्ष शासन गरेका थिए। उनको शासन पनि छोरा असदको शासन जस्तै कठोर थियो।
अर्थात् बसर अल-असदले कठोर र दमनकारी राजनीति विरासतमा पाएका थिए।
यद्यपि पहिले असद आफ्नो बुबाभन्दा अलग निस्केलान् भन्ने अपेक्षा थियो। सायद अलि बढी खुला दिमाग र अलि कम क्रूर होलान् भन्ने आश थियो। तर यी आशा धेरै दिन टिक्न सकेनन्।
बसर अल-असदलाई सन् २०११ मा आफ्नो शासनको विरुद्धमा भएको शान्तिपूर्ण विरोधलाई क्रूरतापूर्वक दमन गर्ने व्यक्तिको रूपमा लिइन्छ।
उनको निर्णयका कारण सिरियामा गृहयुद्ध भयो, जसमा पाँच लाखभन्दा बढी मानिस मारिए र ६ लाख मानिस विस्थापित र शरणार्थी बने ।

सिरियाली राष्ट्रपति बसर अल असद। उनले राजधानी दमास्कस छोडेको बताइएको छ।
बसर अल असदले रुस र इरानको सहयोगमा आफ्ना विपक्षीहरूलाई कुल्चेरै आफ्नो शासन बचाए। रुसले सिरियामा ठूलो हवाई हमला गरिदिएर असरलाई गुण लगाएको थियो।
इरानले सिरिया र हिजबुल्लाहमा आफ्ना सैन्य सल्लाहकारहरू पठाउँदा छिमेकी लेबनानमा यसको समर्थन गरेको सशस्त्र समूहले आफ्ना तालिमप्राप्त लडाकुहरूलाई सिरियामा लड्न पठाइदिएको थियो।
तर, यसपटक त्यस्तो हुन सकेन। सिरियाका सहयोगीहरू पनि आफ्नै देशका मुद्दाहरूमा व्यस्त हुँदा सिरियालाई अपेक्षित सहयोग मिलेन।
सहयोगीको मदत नभएपछि सिरियाली सेनाहरूले इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूलाई रोक्न असमर्थ थिए। केही ठाउँमा त सेनाले रोक्न पनि चाहेन।
सबैभन्दा पहिले, गत हप्ता विद्रोहीहरूले देशको दोस्रो ठूलो सहर एलेप्पो कब्जा गरे, लगभग कुनै विरोध बिना। त्यसपछि हमामा कब्जा गरे र केही दिन पछि होम्सको मुख्य केन्द्र पनि कब्जामा लिए।
विद्रोहीको यो सफलताका कारण सिरियाको राजधानी दमास्कस एक्लो बन्दै गएको केही घण्टामै उनीहरु राजधानीमा प्रवेश गरेका थिए। दमास्कस असदको शक्तिको केन्द्र हो।
अब सिरियामा असद परिवारको पाँच दशक लामो शासनको अन्त्यले यस क्षेत्रमा शक्ति सन्तुलनलाई नयाँ आकार दिन सक्ने अनुमान गर्न थालिएको छ।
सिरियाको घटनापछि इरानले फेरि आफ्नो प्रभावमा ठूलो धक्का महसुस गरेको छ। बसर अल-असदको शासनमा सिरिया इरानी र हिजबुल्लाह बीचको सम्बन्धको हिस्सा थियो। यो हतियार र गोलाबारुद प्रदान गर्न को लागि धेरै महत्त्वपूर्ण थियो।
इजरायलसँगको युद्धपछि हिजबुल्लाह आफैं कमजोर भएको छ र उसको आफ्नै भविष्य अनिश्चित देखिन्छ।
अर्को इरान समर्थित समूह हो हुथी। यसलाई पनि सजिलो अवस्था छैन। यमनमा हवाई आक्रमणको निशाना बनेको छ। यी समूहहरूबाहेक इराकमा सक्रिय सशस्त्र समूहहरू र इरानले ‘प्रतिरोधको धुरी’ भनिने गाजामा हमास जस्ता समूहहरूलाई गम्भीर क्षति पुगेको छ।
इरानलाई आफ्नो अस्तित्वको लागि खतरा मान्ने इजरायलमा असद शासनको अन्त्य चाहिँ खुशीको कुरा भएको छ।
सिरियामा पछिल्लो आक्रमण टर्कीको आशीर्वाद बिना सम्भव नभएको धेरैको विश्वास छ। यद्यपि, केही सिरियाली विद्रोही समूहहरूलाई समर्थन गर्ने टर्कीले एचटीएसलाई कुनै पनि समर्थन नरहेको दाबी गर्दै आएको छ।
केही समययता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली शरणार्थीहरूलाई फर्काउनका लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न बसर अल-असदलाई दबाब दिइरहेका थिए। तर असदले त्यसो गर्न अस्वीकार गरे।
सिरियाली शरणार्थीहरूमध्ये कम्तीमा तीन लाख टर्कीमा छन् र यो स्थानीय स्तरमा एक संवेदनशील मुद्दा बनेको छ टर्कीका लागि।
सिरियामा बसर अल-असदको शासनको अन्त्य भएको कुराले धेरै मानिसलाई खुसी बनाएको पनि छ।
तर अब के हुन्छ होला त? ‘एचटीएसको नाइटो अल-कायदासँग पनि जोडिएको छ र तिनीहरूको हिंसात्मक विगत छ।
तर, विगत केही वर्षदेखि यो समूहले आफूलाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न खोजिरहेको छ। उनीहरूको हालका सन्देशहरूमा कूटनीतिक र मेलमिलापको भाषा देखिन्छ।
तर धेरै मानिसहरू यसमा सहमत छैनन्। त्यस्ता मानिसहरू सिरियाली शासनलाई ध्वस्त गरेपछि के होला भनेर चिन्तित छन्।
सिरियामा नाटकीय रूपमा भएको परिवर्तनले राजनीतिक नेतृत्वमा खाली ठाउँ पैदा हुन सक्छ। यसले अराजकता र हिंसा निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।
(बीबीसीका मध्य-पूर्व संवाददाता बासेगाको यो रिपोर्टी टर्की र सिरिया सीमामा रहेर तयार पारिएको हो।)


