भक्तपुर– ३४७ स्टल सहित मध्यपुर थिमि महोत्सव शुक्रबारदेखि सुरु भएको छ। स्थानीय कला, संस्कृति र एतिहासिक नाचदेखि नेवारी परिकारको स्वाद चाख्न यो महोत्सवमा पाइने छ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना र प्रायोजनमा हुने तीनदिने मेलाले मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने, र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै महोत्सब को मुख्य उद्देश्य हो। महोत्सबमा नेवारी भेषभूषा र परम्परागत सामग्री प्रदर्शनीमा नेवारी संस्कार र भेषभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला, नेवाः संस्कारका अलवा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन पनि प्रदर्शन भइरहेका छन्।
महोत्यवमा सांस्कृतिक नाच प्रदर्शन अन्तर्गत २५ प्रकारका परम्परागत नाचः अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन हुनेछ। बाजागाजाका प्रदर्शनीमा धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजनलगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन हुने नगरपालिकाले जनाएको छ।
यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८, र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो । साथै, पहिले देखि चल्दै आएको महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, र भजन गायनजस्ता कार्यक्रमले यो संस्करणमा पनि निरन्तरता पाएको छ।
महोत्सव शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन हुँदै छ।
















तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


