तनहुँ- तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पुग्ने पर्यटकहरूको संख्या बढ्न थालेको छ। जाडो मौसम सुरु भएसँगै मानुङकोटमा एकाबिहानै पुग्न पर्यटक लालयित हुन्छन्।
डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर बनाइएको छ। मौसम खुलेसँगै उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छ। दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ।
पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासका पिता पराशर ऋषि मत्स्यगन्धासँग प्रेममा। उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले परासरले कुहिरोको उत्पति गराइ ढाकिदिएको विश्वास छ।
काठमाडौँदेखि १६० किलोमिटर र पोखरादेखि ५५ किलोमिटर र तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि १० किलोमिटरको यात्रामा मानुङकोट पुगिन्छ। सडक कतै पिच कतै कच्ची छ। स्कुटर र बाइकका साथै गाडी लिएर पर्यटक मानुङकोट पुग्ने गरेका छन्।
पैदल यात्रीले भने दमौलीदेखि करिव १ घण्टा हिँड्नुपर्छ। शुक्रबारदेखि चहलपहल सुरु हुने मानुङकोटमा शनिबार मात्र करिब ५ हजार बढी पर्यटक पुग्ने गरेको होटेल सञ्चालक बताउँछन्।
खानेपानीको अभावमा विसं २०५२ सालतिर स्थानीयवासीले गाउँ छाडेका थिए।अहिले पनि खाने पानीको भने दुख नै छ। ट्याङ्करको पानी मानुङकोटमा विकल्प बनेर आएको छ।
मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। अहिले त्यहाँ बस्न र खानको लागि होटेल र खाजाघर खुलेका छन्।



















तस्बिर : नेपाल फोटो लाइब्रेरी


