काठमाडौँ : अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को आक्रामक व्यापार अझै रोकिएको छैन।
फिल्मले बलिउड अभिनेता आमिर खानको ‘दंगल’ लाई समेत कमाइमा उछिन्न सक्ने देखिएको छ। ‘दंगल’ को रेकर्ड भारतीय फिल्म उद्योगमा सबैभन्दा धेरै कमाइ गर्नेमा पहिलो नम्बरमा छ।
दंगलको लाइफटाइम कलेक्शन २०७०.३ करोड भारु छ। यस्तोमा ‘पुष्पा २’ अहिले ‘दंगल’ को धेरै नजिक आइपुगेको छ। फिल्मले जसरी कलेक्सन गरिरहेको छ, त्यो हेर्दा अब ‘दंगल’को कीर्तिमानभन्दा धेरै टाढा छैन भन्न सकिन्छ।
‘पुष्पा २’ ले भारतीय फिल्म उद्योगको बक्स अफिसमा सबैलाई पछाडि पारेर दोस्रो नम्बरमा आएको छ।
यसैबीच ‘पुष्पा २’ लाई आमिर खानले बधाई दिएका छन्।
आमिर खानको टिमले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखिएको छ- ‘पुष्पा २’ फिल्मको ब्लकबस्टर सफलताको लागि आमिर खान प्रोडक्सनको तर्फबाट सम्पूर्ण टिमलाई धेरै धेरै बधाई, निरन्तर सफलताको कामना।
अल्लु अर्जुनले आमिर खानको टोलीको सन्देशको जवाफ पनि दिएका छन्।
‘पुष्पा २’ ले विश्वभर १७६० करोड भारु कलेक्सन गरिसकेको छ। अब दंगलको कीर्तिमान तोड्न उसले थप ३१० करोड कमाउनुपर्नेछ।


