एजेन्सी – पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ। जहाँ दुवै पक्षले एकअर्कालाई लगातार आक्रमण गरिरहेका छन्।
हालै तालिबान लडाकुले अफगानिस्तानको सीमा नाघेर पाकिस्तानी चौकीमा आक्रमण गरेका खबर बाहिरिएका छन्। तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले पाकिस्तानी सेनाको एक पोस्ट कब्जा गरेको खबर आएको छ।
यससँग सम्बन्धित एउटा भिडियो सामाजिक सञ्जाल एक्समा भाइरल भइरहेको छ, जहाँ टीटीपी लडाकुहरू पाकिस्तानी चौकीमा हतियार लिएर उत्सव मनाइरहेका छन्। भिडियोमा उनीहरूले पोस्टबाट पाकिस्तानको झण्डा हटाएर आफ्नै झण्डा फहराएको देख्न सकिन्छ।
तर, पाकिस्तानी सेनाले यस विषयमा स्पष्टीकरण दिएको छ। एक वरिष्ठ सेना अधिकारीले भिडियो भाइरल भइरहेको पोस्ट हमला हुनुअघि खाली गरिएको बताएका छन्।
यो कदम बाजौरमा मात्रै सीमित नभई उत्तर र दक्षिण वजिरिस्तानका धेरै चौकीका सैनिकहरूलाई पनि अन्य ठाउँमा सारिएको उनले बताए। यो घटनाले पाकिस्तान र अफगानिस्तानबीच पहिलेदेखि नै बिग्रिएको अवस्थालाई थप तनावपूर्ण बनाएको छ।


