काठमाडौँ – बुद्ध एअरले विमानको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरिवाना गराएको छ।
दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिवाना तिराइएको बुद्ध एअरले जनाएको हो।
कम्पनीका अनुसार जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको छ। जनकपुरधामको महागंगा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एकरएक लाख सहयोग गरिएको बुद्ध एअरले जनाएको छ।
बुधबार पोखराबाट काठमाडौँ उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए। प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो विमान उडेको थियो।
यसैगरी गएको असोज २४ गते काठमाण्डौबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो।
जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको आपतकालीन ढोका खोलेका थिए। त्यसपछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए। विमानको प्राविधिक जाँचका लागि काठमाडौँबाट प्राविधि समूह गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो।


