काठमाडौँ- दुई फिल्म ‘वेलकम टु हेम्जाकोट’ र ‘नीरफूल’ ले प्रदर्शन मिति सार्वजनिक गरेका छन्। यी दुवै फिल्म जेठ २६ गतेदेखि प्रदर्शनमा आउने भएका हुन्। योसँगै जेठमा आउने चलचित्रको संख्या ६ पुगेको छ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको ‘वेलकम टु हेम्जाकोट’ गत वर्ष कात्तिक २५ देखि प्रदर्शन आउने भनिए पनि विभिन्न कारणले सर्दै २६ जेठका लागि पछिल्लो मिति तोकिएको हो। क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्मित यो फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदीप राई, जयनन्द लामालगायतको अभिनय छ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मका निर्माता हुन्। फिल्मले २०७९ सालको मङ्सिरमा काठमाडौँमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको थियो। कास्कीको पर्यटकीयस्थल हेम्जाकोट वरपर फिल्मको सम्पूर्ण छायाङ्कन भएको हो।
फिल्म ‘निरफूल’ २०७२ को भूकम्प र भूकम्पपछि धादिङको रुबीभ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखाइएको छ। दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान बलले गरेका हुन्।
फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन्। सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ।
फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबाको पनि अभिनय छ।
योसँगै जेठमा प्रदर्शनमा आउने फिल्मको संख्या ६ पुगेको छ। यसअघि नै फिल्म ‘डाकिनी’, ‘ए साथी सुन’, ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’। ‘डाकिनी’ र ‘ए साथी सुन’ जेठको पहिलो साता प्रदर्शनमा आउँदैछन् भने ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ दोस्रो साता एक अर्कोसँग भिड्दैछन्।
फिल्म ‘डाकिनी’ बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवीका प्रशस्तै मिथक र दन्त्यकथा छन्, त्यस मध्येकै कथामा निर्माण भएको फिल्म हो। विश्वका प्रख्यात फेस्टिभलको चक्र पूरा गरेपछि नेपालमा रिलिज हुन लागेको यो फिल्मको अङग्रेजी नाम ‘लुकिङ फर अ लेडि विथ फ्याक्स एण्ड मुस्टाच’ नाम दिइएको छ।
६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको यो फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन्।
फिल्म ‘ए साथी सुन’ लभस्टेरी, थ्रिलर तथा कमेडी विधाको फिल्म हो। रमेश बानियाँ, अभिनेत्री वर्षा शिवाकोटी, आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा बिना कार्की र सन्तोषकुमार राईले बनाएका हुन्।
‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्म हो। द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण भएको फिल्म निर्माता शेखर लामा हुन्। देव थापाको निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायतका कलाकारको अभिनय छ।
‘हुक्काः एन एब्डर्स ड्रिम’ सामाजिक विषयमा निर्माण भएको फिल्म हो। स्पाइनी ब्याब्लर क्रियसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निमार्ण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ। यसमा प्रमिला खनाल, सन्तोकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारहरुका कलाकारको अभिनय छ। रेश्मा प्रधान सह निर्माता, पार्वती थापा, सुशील गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्।
यसअघि वैशाख महिनामा ८ वटा फिल्म दर्शकमाझ आएका थिए। वैशाखमा ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘नाई नभन्नु ल-६’, ‘कैदीको पत्र’, ‘प्रसाद-२’, ‘आई एम ट्वान्टी वान’ र ‘हल्कारा’ फिल्म रिलिज भए।


