काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय केन्द्रीय समिति बैठक सुरु भएको छ। धुम्बाराहीस्थित स्मार्ट दरबाररमा माओवादी बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्।
‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ।
बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा ७ भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीसमेत गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ। योसमेत गरी बैठकमा ८१४ नेता सहभागी हुने बताइएको छ।
यसअघि केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आज बिहान ८ बजे उक्त पार्टीको स्थायी समितिको बैठक बसेको थियो। बैठकले महाधिवेशनको मिति तोक्ने विषयलाई अर्को पटकको केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरेको छ।
यस्तै नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पनि पार्टी कार्यालय ललितपुरमा सुरु भएको छ। त्यहाँ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्दैछन्।
संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै राजनीतिक दलको बस्न लागेको बैठकले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा ठोस धारणा तय गर्ने बताइएको छ।




















