काठमाडौँ- पुष २६ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कार्साङ’को प्रिमियर गरिएको छ। बुधबार साँझ काठमाडौँको बिग मुभिजमा प्रिमियर सम्पन्न गरिएको हो।
प्रिमियरमा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेस डीसी, निर्देशक दिपाश्री निरौला, अनुप बराल, गायक कमल खत्री मेलिना मैनाली लगायत धेरै कलाकारको उपस्थिति रहेको छ।
चलचित्रका मुख्य पात्र दयाहाङ राई भने कार्यव्यस्तताले उपस्थित हुन नसकेको ‘कार्साङ निर्माण पक्षले जानकारी दिए।
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो।
‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।
चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ।
चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।
















तस्बिर : नेपाल फोटो लाइब्रेरी


