एजेन्सी – अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको आगलागीमा परी २४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अस्ट्रेलियाली टिभी अभिनेता रोरी साइक्स पनि रहेका छन्।
विगत ७ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। इटोन र पालिसेडेसमा १६ जना बेपत्ता भएका छन्।
आइतबार लस एन्जलसमा हावाको गति अलिकति घटेको थियो। यसले आगो निभाउन दमकललाई सहयोग गरेको थियो। तर, राति अबेरसम्म हावाहुरी आउने चेतावनी दिइएको छ। जसका कारण लस एन्जलसका दुई जङ्गलमा लागेको आगो छिटो निभाउने प्रयास गरिएको थियो। आगलागीको ४० हजार एकड जमिनमा फैलिइसकेको छ।
काउन्टीका सबै मानिसहरूलाई जुनसुकै बेला घर खाली गर्न अग्रिम चेतावनी दिइसकिएको छ।
रोयटर्सका अनुसार लस एन्जलसमा आगलागीका कारण हालसम्म करिब १३५-१५० अर्ब डलरको नोक्सान भएकोछ। यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ। जनतालाई मास्क लगाएर बस्न अपिल गरिएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्निनियन्त्रकहरू आइपुगेका छन्।
अर्कोतर्फ लस एन्जलस प्रहरीका अनुसार ब्रेटनवुडस्थित उपराष्ट्रपति कमला ह्यारिसको घरमा आक्रमणको प्रयास गरिएको छ। यस घटनामा दुई जना पक्राउ परे पनि पछि रिहा भएका छन्।
यी दुई व्यक्ति चोरीको नियतले त्यहाँ उपस्थित भएको कुनै प्रमाण नभएको प्रहरीले जनाएको छ।
