काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै बैठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेका छन्। शुक्रबार दिउँसो ४ बजेदेखि सुरु भएको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न थालेका हुन्।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
संसद् सचिवालयका अनुसार राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमममाथि ७ देखि ९ जेठसम्म राष्ट्रिय सभामा छलफल हुनेछ। छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले ९ जेठमा जवाफ दिने कार्यक्रम तय भएको छ।
