एजेन्सी – बंगलादेशको सर्वोच्च अदालतले बुधबार पूर्वप्रधानमन्त्री तथा बिएनपी नेतृ खालिदा जियालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
सर्वोच्च अदालतले उच्च अदालतको फैसला उल्टाउँदै खालिदाको १० वर्षको सजायलाई खारेज गरेको हो। उनी गत अगस्टमा जेलबाट छुटेकी थिइन्।
७९ वर्षीय पूर्वप्रधानमन्त्रीले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन दायर गरेकी थिइन्। प्रधानन्यायाधीश डा. सैयद रफतको अध्यक्षतामा रहेको इजलासले उक्त फैसला सुनाएको हो। अदालतले फैसलाको कारण खालिदा र अन्यविरुद्ध बदला लिने नियत रहेको उल्लेख गरेको छ।
ढाका ट्रिब्यूनको रिपोर्टअनुसार खालिदा जियाबाहेक, बीएनपी कार्यवाहक अध्यक्ष तारिक रहमान र अन्यलाई पनि रिहा गरिएको छ। उनीहरू सबैलाई जिया अनाथालय ट्रस्ट घोटाला प्रकरणमा दोषी ठहर गरिएको थियो।
फेब्रुअरी ८, २०१८ मा, खालिदा जियालाई ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी पैसा हिनामिना गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाएको थियो। खालिदाका छोरा तारिक र अन्य पाँच जना अभियुक्तलाई पनि १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको थियो।
उनलाई २.१ करोड बंगलादेशी टाका (बंगलादेशी मुद्रा) जरिवाना पनि लगाइएको थियो। तारिक र अन्य दुई अभियुक्त फरार थिए। उक्त फैसलाविरुद्ध जियाले उच्च अदालतमा अपिल गरेकी थिइन्। अक्टोबर ३०, २०१८ मा यो सुनुवाई गर्दा अदालतले सजाय १० वर्ष पुर्याएको थियो।
यसपछि खालिदाले सजायविरुद्ध ‘लिभ टु अपिल’ अर्थात् उक्त सजायलाई सिधै सर्वोच्च अदालतमा चुनौती दिन अपिल गरेकी थिइन्। कानुनी प्रक्रियाका कारण ५ वर्ष ढिलाइ भएको थियो ।
खालिदा लामो समयदेखि बिरामी थिइन्। यसै महिनाको सुरुमा जनवरी ७ मा उनी उपचारका लागि लण्डन गएकी थिइन्। हसिना कलेजो सिरोसिस, मुटु रोग र मृगौला रोगबाट पीडित छिन्।
खालिदा जिया सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशको प्रधानमन्त्री भएकी थिइन्।


