एजेन्सी – कडा चिसोका कारण नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह बाहिर नभई अमेरिकाको क्यापिटल हिल (संसद) भित्र हुने भएको छ।
रोयटर्सका अनुसार ४० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह संसदभित्र हुने भएको हो। ट्रम्पको सपथ ग्रहणका दिन (२० जनवरी) तापक्रम माइनस ७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
ट्रम्पले शुक्रबार आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा भने, ‘देशमा आर्कटिक (उत्तरी ध्रुव नजिक) बरफको आँधी चलिरहेको छ। म चाहन्न कि मानिसहरू कुनै पनि हालतमा घाइते होऊन्।’
यसअघि सन् १९८५ मा रोनाल्ड रेगनको दोस्रो सपथ ग्रहण पनि क्यापिटल रोटुण्डामा भएको थियो। त्यतिबेलाको तापक्रम माइनस २३ देखि माइनस २९ डिग्री सेल्सियस थियो।
क्यापिटल रोटुन्डा क्यापिटल हिल भवनको गुम्बजमुनि छ। यो अमेरिकी संसदको दुवै सदनमा जाने कोरिडोरसँग जोडिएको छ।


