काठमाडौँ – शनिबार राति भावुक स्टाटस लेखेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिएका हुन् त ? अहिले खेलप्रेमीमाझ अझ क्रिकेट मन पराउनेहरूले यसलाई बहसको विषय बनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफ्ना समर्थक र शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्दै आफ्नो भावनात्मक निर्णय सार्वजनिक गरेका हुन्। यस्तो खालको अभिव्यक्ति सामान्यतया खेलजीवनबाट संन्यासका बेला गर्ने गरिन्छ। लामिछानेले फेसबुकमा अंग्रेजी भाषामा ‘सबैलाई धन्यवाद’ लेखेका छन्।
उक्त पोस्टले उनका प्रशंसकहरूलाई द्विविधामा पारेको छ। धेरैजसोले उनको खेल करिअर अन्त्य गरेको बुझेका छन् भने कतिपयले पोस्टलाई अन्यथा लिएको देखिन्छ। पोस्टमा ‘ह्यापी रिटायरमेन्ट’ भन्ने शुभकामना दिनेहरू पनि छन्। केहीले यसलाई ‘नशाका ताल’मा लेखिएको भन्दै बेवास्ता गरेका छन्।
केही फ्यानहरूले लामिछानेको उक्त स्टाटसलाई पछिल्ला समय निराशाजनक प्रदर्शनको अभिव्यक्ति मानेका छन्।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा लामिछानेको प्रदर्शन अपेक्षाकृत कमजोर रहेको थियो। जय ट्रफीमा पनि खासै राम्रो प्रदर्शन गर्न नसक्दा उनले खेल जीवन समाप्त गर्ने सोच बनाएको धेरैले अड्कल काटेका छन्।
लामिछानेको यो कदमले नेपाली क्रिकेटमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। उनको निर्णयले समर्थकहरूमा गहिरो छाप छोडेको छ भने उनका फ्यानहरूले भविष्यमा उनले जुनसुकै क्षेत्रमा अघि बढेपनि सफलताको कामना गरेका छन्।
