एजेन्सी – गाजा पट्टीमा ४७१ दिन (१५ महिनाभन्दा बढी) देखि जारी युद्धविराम र बन्धक रिहाइ सम्झौतापछि आइतबार रोकिएसँगै हमासले तीन जना महिलालाई रिहा गरेको छ।
रोमी गोनेन, एमिली डेमेरी र डोरोन स्टेनब्रेचर नाम गरेका तीन महिला रिहा भएका हुन्। यससँगै सम्झौताको पहिलो चरणमा ३३ बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिलाको रिहाइको स्वागत गरेका छन्। आइतबार सम्झौता लागू नभएको भन्दै उत्तरी गाजामा जारी युद्धमा इजरायलले गोलाबारी र बमबारी गर्दा १३ प्यालेस्टाइनीको मृत्यु भएको थियो। इजरायली सेनाले आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएर उक्त हत्या गरेको हो।
गाजामा १५ महिनाभन्दा लामो समयदेखि चलेको लडाइँमा ४६ हजार ९१३ प्यालेस्टिनी मारिएका छन्। यसका साथै भग्नावशेषमा परिणत भएको गाजामा भग्नावशेषमा पुरिएका मृतकको संख्या बढ्दो छ। लगातारको बमबारी र गोलाबारीका कारण ती शव निकाल्न नसकिएको हो।
२३ लाख जनसंख्या भएको गाजाको दुई प्रतिशतभन्दा बढी जनसङ्ख्या युद्धमा मारिएका छन् भने ९० प्रतिशत जनता घरबारविहीन भएका छन्।
गाजा युद्धमा करिब ४०० इजरायली सैनिक पनि मारिएका छन्। इजरायलका विदेश मन्त्री गिडोन सारले हमासलाई निर्धारित समयभन्दा १८ घण्टा ढिलो गरी जारी गरिने महिलाको नामको सूची हस्तान्तरण गरेको बताए।
जबकि हमासले प्राविधिक कारणले सूची दिन ढिलाइ भएको बताएको छ। सोही ढिलाइका कारण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको हो। यदि यो ४२ दिने तीन चरणको युद्धविराम सम्झौतामा योजनाअनुसार सबै भयो भने यसले गाजामा युद्धको स्थायी अन्त्यको लागि मार्ग प्रशस्त गर्ने बताइएको छ।
तर, सम्झौता कार्यान्वयन हुनुअघि नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौता उल्लंघन भएमा इजरायललाई आक्रमण गर्ने अधिकार हुने स्पष्ट पारेका छन्।
एजेन्सीको सहयोगमा


