काठमाडौँ – फिल्म निर्माता छवि ओझा र उनकी चौथो श्रीमती अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा अहिले आएर किनारा लागेको छ।
अंशवण्डा भएको लामो समय भए पनि बल्ल आएर ओझाले मानाचामल दिएरै मुद्दा किनारा लगाउन तयार भएका हुन्। जसअनुसार ओझाले काठमाडौंको गौरीघाटस्थित ४ करोड रुपैयाँ मूल्य कायम राखिएको घर शिल्पालाई दिएका छन्।
मुद्दाले किनारा पाएपछि दुवै जनालाई बाटो खुला भएको छ। मानाचामलको मुद्दा चलिरहँदा छविको बैंक खाता र सम्पत्ति रोक्का थियो। करिब पाँच आना क्षेत्रफलमा बनेको साढे दुई तले घर छाडेर छवि भने डेरामा सरेका छन्।
शिल्पा छविकी चौथी श्रीमती हुन्। उनीहरूले प्रेम सम्बन्धपछि विवाह गरेका थिए। लिभिङ टुगेदरमा बसिरहेका उनीहरूबीच विवाह भएको तस्वीरसमेत सम्बन्ध बिग्रिएपछि सार्वजनिक भएको थियो। आफूभन्दा ३० वर्ष कान्छी श्रीमतीसँग २९ असार २०७३ मा छविले गोप्य रूपमा विवाह गरेका थिए।
विवाहपछि छविले आफूलाई दिएको भन्दै शिल्पाले सञ्चारमाध्यम गुहारेकी थिइन्। शिल्पाले रुँदै दिएको अन्तर्वार्ता भाइरल नै भएको थियो।
२०७६ सालमा शिल्पाले छविविरुद्ध जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेद र मानाचामलको मुद्दा हालेकी थिइन्। तीन वर्षपछि अदालतले शिल्पाको पक्षमा फैसला दिएको थियो। साथै छविको ऋणको आधा अंश पनि शिल्पाले स्वीकार्नुपर्ने फैसला भएकोमा छविले अदालतमा १० करोड ऋण देखाएका थिए।
