काठमाडौं– ‘निर्माताहरुले दिन्छु भन्नुभएको छ, हेरौं कस्तो होला। कुरा त भइरहेको छ’ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले रेकर्डतोड व्यवसाय गरेपछि कलाकार विजय बराललाई थप रकम दिइने भन्नेबारे बजारमा चलिरहेको प्रसङ्गमा कलकार बरालले भनेका छन्, ‘यो कुरा उहाँहरुकै हातमा छ।’
‘पूर्णबहादुरको सारङ्गी’अघिका फिल्महरुमा शीर्ष भूमिकामा भन्दा सहायक भूमिकाहरुमा देखिने बरालको कला यात्रामा यो फिल्मले नयाँ मोड मात्र होइन ‘स्टारडम’ नै ल्याइदिएको छ। अभियनय परखका हिसावले मात्र होइन आर्थिक रुपमा पनि उनका लागि ‘पूर्णबहादुरको सारङ्गी’ एउटा महत्वपूर्ण खुड्किलो बन्दै छ।
बजारबाट उठेको पैसा निर्माताहरुको हातमा पर्नेवित्तिकै उनले ह्यान्डसम रकम बुझ्ने निश्चित भएको छ। यो फिल्ममा विजयले नाफाको ५ प्रतिशतमा काम गरेका थिए। विजयले नाफाको ५ प्रतिशतमा काम गर्दा मात्र पनि उनको हातमा ९० लाखदेखि १ करोड हात पर्ने देखिएको छ। ‘यति रकमको विजयको हातमा पर्ने निश्चित भइसकेको छ। उहाँलाई एउटा गाडी पनि उपहार गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ’ फिल्म निर्माण पक्षका एक सदस्यले भने, ‘विजय बरालको मिहिनेत यो फिल्ममा अधिकतम् छ। उहाँकै अभियनका कारण फिल्म चलेको पनि हो।’
मूलतः फिल्म निर्माणमा सहभागी निर्माताहरुबीच आससी समझदारीमा देखिएको व्यवसायीक गडबडीका कारण वितरकहरुबाट आएको पैसाबाट कलाकार बराललाई रकम हस्तान्तरणको काम ढिला भएको थियो। ‘अब समस्या समाधान पनि भइसकेको छ, उहाँलाई रकम हस्तान्तरण छिटै हुन्छ’ निर्माण पक्षका ती सदस्यले भने।


