एजेन्सी – सपथ ग्रहणलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै ठूला निर्णय लिएका छन्।
उनले बाइडेन सरकारका ७८ वटा निर्णय रद्द गरेका छन्। ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणका दोषी १५०० जनालाई आममाफी दिनेदेखि लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिकालाई बाहिर निकाल्नेसम्मका धेरै महत्वपूर्ण विषयमा निर्णयहरू भएका छन्।
ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकता समाप्त गर्ने निर्णय पनि गरेका छन्। यसले अमेरिकी अध्यागमन नीतिमा ठूलो परिवर्तन हुनेछ। यसले अमेरिकामा जन्मेका लाखौं बालबालिकाको नागरिकतामा असर पर्नेछ।
अमेरिकी संविधानको १४ औं संशोधनअनुसार अमेरिकामा जन्मेको बच्चा स्वतः अमेरिकी नागरिक बन्छ। सन्तान जन्माउनका लागि अमेरिका जाने अभिभावकको संख्या बढ्दै पनि गएको छ। जसलाई ‘बर्थ टुरिजम’ भनिन्छ।
उक्त आदेशमा अमेरिकामा जन्मेका त्यस्ता बालबालिकालाई मात्र अमेरिकी नागरिकता दिइने उल्लेख छ, जसका बाबुआमा अमेरिकी नागरिक वा उनीहरूमध्ये एकसँग ग्रीन कार्ड छ।
भारत र चीनबाट बढ्दो संख्यामा मानिसहरू एच वान बी भिसामा अमेरिकामा बसिरहेका छन्। ट्रम्प प्रशासनको यो निर्णयले अमेरिकामा रहेका त्यस्ता मानिसहरूलाई असर पार्ने देखिएको छ।
अमेरिकामा ४८ लाखभन्दा बढी भारतीयहरू बस्छन्, जसमध्ये ठूलो हिस्सा जन्मसिद्ध नागरिकता पाएका छन्। अमेरिकामा एच वान बी भिसामा काम गर्नेहरूका लागि परिवार नियोजन ठूलो समस्या हुन गइरहेको छ।


