नयाँदिल्ली- चक्कु आक्रमणमा परेका बलिउड अभिनेता सैफ अली खान ६ दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। लीलावती अस्पतालबाट उनी मंगलबार डिस्चार्ज भएका हुन्।
५४ वर्षीय अभिनेतामाथि गत बिहीबार बिहान घरभित्रै आक्रमण भएको थियो। आक्रमणकारीले उनलाई चक्कु प्रहार गरेका थिए।
डाक्टरहरुले उनको शरीरमा ६ पटक चक्कु हानिएको बताएका थिए। त्यसमध्ये एउटा चोट मेरुदण्ड नजिक थियो। शल्यक्रिया गरेर त्यहाँ अड्किएको चक्कुको टुक्रा निकालिएको थियो।
सैफ आज अस्पतालबाट निस्किएर प्राइभेट कारमा निजी निवास पुगेका हुन्।
बुधबार राति करिब २ः३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको थियो।
खानको घरमा चोरीको प्रयास भएको बताइएको छ।
आक्रमणमा सैफको घरका एक कर्मचारी पनि घाइते भएका थिए।
सैफ अली खान फर्च्युन हाइट्स, खारमा बस्दै आएका छन्। डिस्चार्ज भएपछि उनी त्यहीँ फर्किएका हुन्।
चोरी गर्न आएको समूह र सैफका सहयोगीबीच झगडा भएको थियो।
सैफले ती व्यक्तिलाई शान्त पार्न खोज्दा आक्रमणमा परेका थिए।
