एजेन्सी – युद्धविराम सम्झौताअन्तर्गत हमासले यसै साता ६ इजरायली नागरिकलाई रिहा गर्ने भएको छ।
उनीहरुलाई बिहीबार र शनिबार गरी ३/३ गरी दुईवटा ब्याचमा रिहा गरिने छ। बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई आज अर्थात् सोमबार, जनवरी २७ देखि फर्कन अनुमति दिनेछ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन्। रिहा गरिएका बन्धकहरूमा अर्बेल येहुद र आगर बर्गर नामक दुई महिला थिए। उनलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो।
इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो। तर, हमासले शनिबार अर्बेललाई रिहा गरेको छैन। इजरायलले यसलाई युद्धविरामको उल्लंघन भनेको छ।
७ इजरायली बन्धक र ३०० भन्दा बढी प्यालेस्टिनी रिहा
युद्धविराम सम्झौता अन्तर्गत हमासले हालसम्म ७ जना इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ। यी सबै महिला हुन्। जसको बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।
हमासले आइतबार इजरायललाई बाँकी बन्धकहरूको सूची हस्तान्तरण गरेको छ। इजरायल र हमासबीच जनवरी १९ बाट युद्धविराम सुरु भएको थियो। युद्धविरामको पहिलो चरण ४२ दिनको छ, जसमा सबै इजरायली बन्धकहरूलाई रिहा गरिनेछ।
इजरायलले शनिबारसम्म यो सूची प्राप्त नगरेको बताएको छ। इजरायलले यसलाई युद्धविरामको उल्लंघन भनेको हो। जसका कारण उत्तरी गाजामा प्यालेस्टाइनीहरू घर फर्किन ढिलाइ भएको छ।


