काठमाडौँ- समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ। डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरले वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तर्जातीय प्रेममा आउने उतारचडावलगायतका विषयवस्तुलाई संकेत गरेको छ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शन हुँदैछ। नेपालबाहेक जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ।
केही दिन अघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो। गएको तिहारमा सार्वजनिक हुने भनिएको यो चलचित्र प्राविधिक कारण प्रदर्शन मिति सारिँदै आएको थियो।
सार्वजनिक ट्रेलरलाई शाहिल खानले निर्माण गरेका हुन्। तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। स्वर्गीय लामाको यो अन्तिम चलचित्र पनि हो।
यो चलचित्र केही समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए। त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो।
मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दीर्घ गुरुङ हुन्। कविराज गहतराज, गम्भीर विष्टको संयुक्त करियोग्राफी, शाश्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ। गीतका म्युजिक डिरेक्टर राज सागर हुन्।
चलचित्रलाई सुनील मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन्।
ट्रेलर:


