काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू पार्टी र व्यक्तिभन्दा माथि उठेर काम गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा अर्थमन्त्री डा महतले यस्तो दाबी गरेका हुन्।
सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका थिए। अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए।
‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन,’ सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भने, ‘युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौँ।’

आफूले ठूलो स्वरमा कुरा नगर्ने तर ज्ञान र अनुभवलाई उपयोग गरी सुधारका काम इमान्दारिका साथ गर्ने जिकिर गरे। ‘कार्यान्वयन हाम्रो मूल चुनौती हो। पूँजीगत खर्चको प्रभावकारिता बढ्छ। समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन,’ उनले भने, ‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौँ। राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु। ती कुरालाई हामी सुधार गर्छौँ। यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन।’
बैठकमा एमालेका सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए। समितिको बैठक नेपाली कांग्रेसका सांसद एवं समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बसेको थियो।


