पाँचपोखरी (सिन्धुपाल्चोक)- ४ हजार २ सय मिटरको उचाईमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरी पुग्दा यो दृश्य देखेपछि नरमाउने सायदै होलान्। पाँचपोखरी गाउँपालिका-३ भोताङको छिम्ती गाउँ बजारबाट झन्डै दुई दिनको पैदल यात्राकष्ट सुन्दरतम् पाँचपोखरीको दृश्यले पूरा भुलाइदिन्छ।
भिर काट्दै बनाइएको बाटोमा २२ किलोमिटरको ‘एडभेन्चर’ पदयात्रामा नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरी विनायक, भूमेदेवको भिरको कलात्मक द्वारले स्वागत गर्छन्।
सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्त्व बोकेको धार्मिकस्थल हो, पाँचपोखरी। इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका पाँच वटा पोखरीका बेग्लाबेग्लै नाम छन्– भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, सूर्यकुण्ड र नागकुण्ड।
यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ।
पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ। पाँचपोखरी नजिकै महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँच वटा पोखरी परिक्रमा गरेमा पापमोचन हुने र मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ।
पाँचपोखरीबाट करिब एक घण्टाको उकालो यात्रा गरेपछि अग्लो डाँडामा पुगिन्छ। मौसम खुलेको बेला सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
प्रचारप्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्न सकेको छैन। पूर्वाधार पनि विकास हुन बाँकी छ। पाँचपोखरीमा जनैपूर्णिमाको अघिल्लो दिन र मंसिर पूर्णिमाका दिन विशेष मेला लाग्छ।
तस्बिरमा हेर्नुहोस्



















