एजेन्सी – प्रियंका चोपडा सन् २०२१ मा ‘द ह्वाइट टाइगर’ फिल्ममा देखियता बलिउडको ठूलो पर्दामा देखा नपरेको वर्षौं भइसक्यो।
प्रियंकाले फरहान अख्तरको आगामी फिल्म ‘जी ले जरा’ बाट बलिउडमा कमब्याक गर्ने भनिएको थियो, तर अहिले उनी साउथ फिल्ममा आफ्नो छाप छोड्दै छिन्।
प्रियंकाले दिग्गज भारतीय निर्देशक एसएस राजामौलीसँग हात मिलाएकी छन्, जसले ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्महरू दिएका छन्।
प्रियंका राजामौलीको आगामी फिल्म ‘एसएसएमबी २९’ मा साउथ सुपरस्टार महेश बाबुसँग मुख्य भूमिकामा देखिँदैछिन्।
प्रियंकाले राजामौली र दक्षिण भारतीय सुपरस्टार महेश बाबुसँग फिल्मको तयारी सुरु गरिसकेकी छन्। उनले राजामौलीको फिल्मका लागि ३० करोड भारु लिँदै अभिनेत्री दीपिका पादुकोणलाई पनि पछि पारेकी छन्।
यो पारिश्रमिक बलिउडमा कुनै पनि अभिनेत्रीले लिएको सबैभन्दा ठूलो रकम भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। तर, यसबारे आधिकारिक जानकारी भने आएको छैन।
राजामौलीले प्रियंका र महेश बाबुसँग हैदराबादमा फिल्मको सुटिङ पूरा गरेका छन्। फिल्मलाई हिट बनाउन राजामौलीले कास्ट र क्रुलाई एनडीएमा साइन गराएका छन्।
हैदरावादबाहेक फिल्मको छायांकन विदेशमा पनि हुने बताइएको छ। यसलाई राजामौलीको प्रतीक्षित फिल्म मानिएको छ। जसमा उनले करिब १ हजार करोड भारु खर्च गरिरहेका छन्।
