अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जारी गरेका कार्यकारी आदेशहरूको कार्यान्वयन गरेको भन्दै अर्बपति एलन मस्कको प्रशंसा गरेका छन्। उनलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा समेत उनले चित्रित गरेका छन्।
फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा एलनले पनि ट्रम्पको प्रशंशा गरे। यी दुई व्यक्तिले एक अर्काको प्रशंसा गरेका हुन्। ट्रम्पले आफ्नो कार्यकारी अधिकारलाई उछिन्दै गएको चिन्तालाई खारेज गर्न टेलिभिजनको लामै समय लिए।
ट्रम्पले पछिल्लो तीन हप्तामा दर्जनौँ कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्। तीमध्ये धेरै संविधान विपरीत हुन सक्ने भनेर अदालतहरूमा मुद्दाहरू पुगिसकेका छन्।
सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पका मुख्य दाता रहेका अर्बपति मस्कलाई सङ्घीय खर्चमा ‘फजुल खर्च, धोखाधडी र दुरुपयोग’ उन्मूलन गर्ने घोषित लक्ष्यका साथ नवनिर्मित सरकारी दक्षता विभाग (डज) को नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो।
‘डज टोलीको सबैभन्दा ठूलो कार्य भनेको राष्ट्रपतिको कार्यकारी आदेशहरू वास्तवमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हो’, मस्कले फक्स न्युजसँग भनेका छन्।
अन्तर्वार्तामा ट्रम्पले आफ्ना नीतिहरू बिना ढिलाई कार्यान्वयन गरिनुपर्ने कुरामा जोड दिएका थिए। मस्क तिनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको समेत उनले उल्लेख गरे।
‘तपाईं एउटा कार्यकारी आदेश लेख्नुहुन्छ र तपाईं सोच्नुहुन्छ कि यो काम पनि सम्पन्न भइसक्यो। यो वास्तविकता त्यस्तो हुँदैन। कार्यान्वयनमा समय लाग्छ’, ट्रम्पले भने।
उनका अनुसार मस्क र डज टोली अब सङ्घीय कर्मचारी तन्त्रभित्र कसैको बाधा बिना उनको प्रशासनको एजेण्डा लागू गर्न प्रवर्तन संयन्त्र बनेका छन् – अन्यथा उनीहरूले जागिर गुमाउने जोखिम छ।
‘कुनै व्यक्ति जसले शायद यो गर्न चाहँदैनथ्यो, एक्कासि उसले यसमा हस्ताक्षर गर्दैछ’, ट्रम्पले भने।
फक्स अन्तर्वार्ता प्रसारण हुनुभन्दा केही घन्टाअघि मात्र ट्रम्पले कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए। ती आदेशले सङ्घीय नियामक निकायहरूमाथि सिधै ह्वाइटहाउसको नियन्त्रण विस्तार र सुदृढीकरण गर्ने प्रयास गरेको थियो।
कानूनी चुनौतीहरूको सामना गर्नसक्ने यस आदेशले सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) जस्ता एजेन्सीहरूलाई समीक्षाका लागि ह्वाइट हाउसमा नियामक प्रस्तावहरू पेस गर्न बाध्य पार्नेछ।
‘सङ्घीय सरकार वास्तवमै अमेरिकी जनताप्रति जवाफदेही हुनका लागि व्यापक कार्यकारी शक्ति प्रयोग गर्ने अधिकारीहरूलाई जनताद्वारा निर्वाचित राष्ट्रपतिद्वारा निरीक्षण र नियन्त्रण गरिनुपर्छ’, कार्यकारी आदेशमा उल्लेख छ।
ट्रम्पको कार्यकारीको भूमिकामा मस्क हाँसे। आफूलाई ‘टेक्नोलोजिस्ट’ भनेर वर्णन गरे र अन्तर्वार्ताका लागि ‘टेक सपोर्ट’ लेखिएको टी-सर्ट लगाएका थिए।
मस्कले आफूले अमेरिकी राष्ट्रपति जस्तै व्यवहार गरिरहेको भन्ने आलोचनालाई खारेज गरे। उनले ट्रम्पको क्याबिनेटका कुनै पनि सदस्य निर्वाचित नभएको र आफूले ट्रम्पको एजेण्डालाई सहज बनाउने काम मात्र गरेको बताएका थिए।
‘राष्ट्रपति जनताका निर्वाचित प्रतिनिधि हुन्, त्यसैले यसले जनताको इच्छाको प्रतिनिधित्व गर्दछ’, मस्कले व्याख्या गर्दै भने, ‘कर्मचारीतन्त्रले जनताको इच्छासँग लडिरहेको छ। राष्ट्रपतिलाई जनताले चाहेको कुरा कार्यान्वयन गर्नबाट रोकिरहेको छ भने हामी लोकतन्त्रमा नभई कर्मचारी तन्त्रमा बाँचिरहेका छौँ।’
ट्रम्प प्रशासनमा मस्कको प्रमुख भूमिकाले ह्वाइटहाउसमा वास्तवमा कसको नियन्त्रण छ भन्ने सार्वजनिक प्रश्न उठेको छ। यद्यपि रिपब्लिकन राष्ट्रपतिले दुई जनाबीच खराब सम्बन्धको अफवाहलाई तुरुन्तै खारेज गरे।
‘वास्तवमा एलनले मलाई फोन गर्नुभयो’, ट्रम्पले भनेका थिए, ‘तपाईंलाई थाहा छ, तिनीहरूले हामीलाई अलग गर्ने प्रयास गरिरहेका छन्। मैले ‘बिल्कुल बिल्कुल’ भनेको थिएँ।’
तर ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध बिगार्ने कथित प्रयासहरूबाट अमेरिकीहरू मुर्ख नबन्ने विश्वास व्यक्त गरे।
‘उनीहरू यसमा राम्रो छन् भन्ने मलाई लाग्थ्यो’, मिडियामा आएका विषयवस्तुतर्फ लक्षित गर्दै ट्रम्पले भने, ‘उनीहरू वास्तवमा यो विषयमा अफवाह फैलाउँछन्। उनीहरूले भनेजस्तै हुने थियो भने म कहिल्यै राष्ट्रपति हुने थिइनँ। जनता स्मार्ट छन्, उनीहरूले बुझ्छन्।’


