काठमाडौँ- हाँडीगाउँका विभिन्न रुटमा काठमाडौँ महानगरपालिकाले एकतर्फी प्रणाली लागू गरेको छ।
पुस ५ गते बसेको महानगरको भवन व्यवस्था समितिको बैठकले गरेको निर्णय बुधवारदेखि लागू गरिएको हो।
सुरूवाती दिनमा चालकहरू रूटको बारेमा अलमलमा पर्ने भएकाले नगर प्रहरी परिचालन गरी ट्राफिक डाइभर्ट गर्ने काम गरिनेछ।
काठमाडौँ महानगरपालिका-५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाइने भएको छ।
विशालनगरतर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महांकाल तर्फमात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ।
हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट जान मिल्ने बनाइएको छ भने नक्साल भाटभटेनीतर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने गरी वान वे बोर्ड राखिएको छ।
ढुंगेधाराबाट हात्ती महांकालतर्फ पनि प्रवेश निषेध गर्नुका साथै वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध बनाइएको छ। बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिरतर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिएको छ।












तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी


