काठमाडौँ – केदार घिमिरे र अभिनेत्री वर्षा शिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ को आजबाट छायांकन सुरु गरिएको छ।
महाशिवरात्रिको अवसर फिल्म छायांकन सुरु गरिएको घिमिरेले सामाजिक सञ्जालमा एक फोटो हालेर जानकारी गराएका हुन् । त्यस्तै अभिनेत्री शिवाकोटीले पनि फेसबुकमा ‘आजबाट चलचित्र माग्नेराजाको काम शुरु भयो । हजुरको आशिर्वाद रहिरहोस्।’ लेखेकी छन्।
फिल्ममा अभिनेता विल्सनविक्रम राई पनि अनुबन्धित भएका छन्। निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेको थियो।
विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’ मा अभिनयको मौका दिएका घिमिरेले यसअघि पनि ठूलो पर्दामा उनीसँग काम गरिसकेका छन्।
ऋषि लामिछानेको निर्देशनमा बन्ने यस फिल्लममा शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायत कलाकार पनि पक्का भइसकेका छन्।
आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा रहेको छ।


