काठमाडौँ- काठमाडौँको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर फेरि बाढी आएको छ। थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुट्दा बाढी आएको हो।
पाइप फुटेर पानी सडकमा निस्किँदा सडक भत्किएको छ। सडकपेटीमा पनि क्षति पुगेको छ। मंगलबार बिहान सो क्षेत्रमा पाइप फुटेपछि सडक नै अवरुद्ध भएको थियो।
पाइप फुटेलगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन।
यसअघि माघ ३० गते पनि बबरमहल सडकमुनि बिछ्याइएको पाइप फुटेपछि बबरमहल क्षेत्रमा डुबानमा परेको थियो।
काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेपछि त्यहाँका कर्मचारी र सर्वसाधारणलाई उद्धार गर्नुपरेको थियो भने कागजातहरू सुरक्षित स्थानमा सारिएको थियो।
बाढीबाट वन परिसर पछाडिको बस्ती पनि डुबानमा परेको छ। पानीको उचित निकास नहुँदा पाइपबाट आएको पानीले नै बस्ती डुबानमा परेको हो।
खानेपानीमन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका थिए।
‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो। विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधि काम गर्यो। त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ।’
तर त्यसको २० दिन नबित्दै फेरि मेलम्चीको पानीले काठमाडौँमा बाढी ल्याइदिएको हो।
















