पोखरा- पोखरा महानगरपालिका वडा नम्बर-५ को धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीका लागि आएको खाजा शिक्षकले खाने गरेको विषयमा प्रश्न उठेपछि भान्से (कर्मचारी)लाई बर्खास्त गरिएको छ। विद्यालयमा दिवा खाजामा राखिएकी कर्मचारी विष्णुमाया लामिछानेलाई विद्यालय प्रशासनले बर्खास्त गरेको हो। लामिछानेलाई २०७८ पुष २६ गते विद्यालयका विद्यार्थीको दिवाखाजाका लागि करार सेवामा नियुक्ति गरिएको थियो।
विद्यालयको प्रतिष्ठामा गम्भीर आँच पुर्याउने भ्रामक सूचना मिडियामा दिएको र प्रशासनले लगाएको काम नगरेको आरोप लगाउँदै धर्मस्थली आधारभूत विद्यालय प्रर्स्याङले भान्से लामिछानेलाई सेवाबाट बर्खास्त गरेको हो।
विद्यार्थीलाई बनाएको खाजा केही शिक्षिक/शिक्षिकाले खाइदिएको गुनासो आएपछि त्यसबारे पत्रकारहरूले विद्यालय प्रशासनमा सोधीखोजी गरेका थिए। पत्रकारसँग कुराकानी गरी विद्यालयका शिक्षकको कमजोरी मिडियामा दिएको आरोप लामिछानेमाथि लगाएर विद्यालय प्रशासन र व्यवस्थापनले विष्णुमायाको सेवा खोसेको हो।
जेठ ५ गते विभिन्न आरोप लगाउँदै भान्से लामिछानेलाई विद्यालय प्रशासनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। विद्यालयका शिक्षक तथा कर्मचारीले शनिबार बिदाको दिन जेठ ६ गते कर्मचारी विष्णुमायाविरुद्ध गुनासो दर्ता गरेकोसमेत पाइएको छ। विद्यालयले जेठ ७ गते विष्णुमायालाई सेवाबाट बर्खास्त गरेको हो।
भान्से कर्मचारी विष्णुमायालाई अवकाश दिएको विषयमा जिज्ञासा राख्दा निमित्त प्रधानाध्यापक निर्मला पोखरेलले आम्दानीको स्रोतको रुपमा रहेको छाप्रो भत्काइएकोले आर्थिक समस्या परेकाले अवकाश दिनु परेको जिकिर गरिन्। तर उनको भनाइ र उनले हस्ताक्षर गरेका पत्रहरूको विवरण परस्परमा मेल खाँदैन।
विद्यार्थीका लागि आएको खाजा शिक्षकशिक्षिकालाई खुवाउने गरेको विषयमा लामिछानेले दिएको स्पष्टीकरणमा समेत उल्लेख गरिएको छ। ‘भान्सामा म एक्लैले ८ कक्षासम्मका सबै विद्यार्थीहरू म्याडम र सरहरूलाई खाजा बनाएर खुवाउने, भाँडा माझ्ने, सरसफाई गर्ने सबै काम सकिनसकी गर्दै आएकी थिएँ,’ विद्यालयले सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै लामिछानेले लेखेकी छन्, ‘ममाथि लगाइएका सबै झुठा आरोपहरू प्रमाणित गर्न म अनुरोध गर्छु। ममाथिको आरोप सत्यय सावित भए म एक मिनेट पनि काममा नबसिकन राजीनामा दिन तयार छु।’

विष्णुमायाले पेस गरेको स्पष्टीकरण पत्र-१

विष्णुमायाले पेस गरेको स्पष्टीकरण पत्र-२ र अवकाश गर्न लगाइएको तोक आदेश।
पत्रमा त यहाँले भनेजस्तो विवरण उल्लेख छैन नि भन्ने हाम्रो प्रश्नपछि निप्रअ पोखरेलले भाषा बदलेकी छन्। दिवा खाजामा राखिएकी भान्से लामिछानेलाई विद्यालयले पटकपटक मौखिक प्रष्टीकरण सोधेको निमित्त प्रधानाध्यापक पोखरेलको भनाइ छ। ‘यसअघि कुनै पनि लिखित प्रष्टीकरण सोधेका थिएनौं,’ निमित्त प्रधानाध्यापक पोखरेलले भनिन्, ‘स्पष्टीकरणपत्रमा लगाइएका आरोप प्रमाणित गर्ने प्रमाण पनि छैन।’
प्रधानाध्यापक वदनकुमारी शर्माको हस्ताक्षरमा जेठ ५ गते स्पष्टीकरण सोधिएको छ। सोमबारदेखि पारिवारिक भ्रमणको क्रममा शर्मा अस्ट्रेलिया गएकाले पोखरेलले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पढाउने शिक्षिका, शिक्षक र कर्मचारीले गुनासो गरेपछि भान्साकी कर्मचारी लामिछानेलाई अवकाश दिइएको बताए। अध्यक्ष पराजुलीले शिक्षिका र कर्मचारीहरुले लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै पनि प्रमाण आफू र विद्यालयसँग नभएको तर करारमा राखिएका कर्मचारीलाई निकाल्न कुनै छानबिन समिति गठन गरिरहन जरुरी नभएकोले निकालिएको बताउँदै मुद्दा परेमा सामना गर्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराजुलीले भान्सामा काम गर्ने एउटा सामान्य कर्मचारीले विद्यालयको ‘चेन अफ कमान्ड’ भत्काएको र ननिकालेमा वातावरण बिग्रने देखिएकोले हटाउनु परेको जिकिर गरे।

विष्णुमायालाई थमाइएको अवकाश पत्र।
यसैबीच विद्यालयले अर्को पनि त्रुटी गरेको पाइएको छ। जेठ ५ गते लामिछानेलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधिएको छ। तर त्यसको २४ घण्टा नबितिकन विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर त्यहाँबाट निर्णय गराइएको पनि विद्यालयले विष्णुमायालाई थमाएका पत्रको अध्ययनबाट प्रष्ट हुन्छ।
जेठ ५ गते स्पष्टीकरण सोधेको विद्यालयले त्यही दिन कसरी अवकाश दिने निर्णय गरेको भन्ने प्रष्ट छैन। यसले स्पष्टीकरण प्रक्रियाका लागि मात्र सोधिएको तर बर्खास्त गर्ने निर्णय गरेर स्पष्टीकरण सोधेजस्तो मात्र गरेको देखिन्छ। यो विषयलाई लुकाउने प्रयत्न गरिएको भएपनि विद्यालय प्रशासनले कमजोरी झल्कने गरी विष्णुमायालाई पत्र थपाएको देखिन्छ।
जेठ ५ गते शुक्रबार परेको थियो। सोही दिन विष्णुमायालाई थमाएको पत्रमा २४ घण्टा समय दिएर स्पष्टीकरण माग गरिएको छ। जेठ ६ गते शनिबार परेकाले विष्णुमायाले ७ गते मात्र स्पष्टीकरण पेस गरेकी थिइन्। तर उनले स्पष्टीकरण पेस गर्न नपाई उनलाई अवकाश दिने निर्णयमा विद्यालयका प्रअ शर्मा र व्यवस्थापन समिति अध्यक्ष पराजुलीले हस्ताक्षर गरेका छन्।

विष्णुमायालाई सोधिएको स्पष्टीकरण पत्र।
विद्यालयमा पत्रकार आएर खाजाको बारेमा सोधखोज गरेको दिनदेखि नै आफूलाई विद्यालय प्रशासन र व्यवस्थापनले चेपुवामा पारेको विष्णुमायाले गुनासो गरेकी छन्। ‘स्कुलमाको आउँछ? के भन्छन्? म भान्सामा खाना बनाएर खुवाउने लाई केही थाहा हुँदैन,’ लामिछानेले भनिन्, ‘अस्ति पत्रकार आएर विद्यार्थी खाजाबारेमा सोधखोज गर्नुभएको थियो अरे। त्यो दिनदेखि त मलाई तैले नै भनेर आएका हुन् भनेर झनै काममा दलाए, चेपुवामा पारे।’
दिनभर काम गरेर बेलुका घर जाने बेलामा स्कुलको कुरा बाहिरी मान्छेलाई भनेको आरोप लगाएर मलाई बर्खास्त गरेको भन्दै चिठी थमाइदिएको उनको भनाइ छ। उनको गुनासो छ, ‘मैले कसैलाई चिनेको पनि छैन। भनेको पनि छैन। सकिनसकी एक्लैले झण्डै चार सय विद्यार्थी र पढाउनेहरुलाई खाजा बनाएर खुवाउँदा र जुठो भाँडा माझेर दुःख गर्दा गर्दै एकैपटक निस्केर जा भन्नु कहाँको न्याय हो?’
लामिछानेले अहिलेसम्म आफूले विद्यालयको हितविपरीत कुनै काम पनि नगरेको र कसैलाई पनि नभनेको बताउँदै अहिले आफूमाथि अन्याय परेपछि बोल्न बाध्य भएको बताइन्। केही शिक्षिकाहरुले कक्षामा पढाउँदा पढाउँदै बीचमै कक्षा छाडेर पाक्दै गरेको विद्यार्थीको खाजासमेत झिकेर खाइदिने गरेको उनको भनाइ छ।
‘केही म्याडम र सरहरुले विद्यार्थीको खाजा छुँदा पनि छुनु हुँदैनथ्यो,’ लामिछानेले भनिन्, ‘तर कुनै म्याडमहरू त भान्सामा के पाकेको छ? भन्दै पढाउन नै छाडेर खाना भान्सामा आउनुहुन्थ्यो,’ उनले भनिन्, ‘कुनकुनले त्यस्तो गर्छन् सबैलाई थाहा छ। काम छाडेर भान्सामा विद्यार्थीको खानाआउनेलाई पो स्कुलले कारबाही गर्नुपर्ने थियो त।’
लामिछानेले स्कुलमा बेलाबेला पढाउनै छाडेर मासुभात पकाएर खाइरहने गरेको बताइन्। उनीहरुले विद्यार्थीलाई ल्याएको मसला, तेल र ग्याससमेत शिक्षकहरूले आफ्ना लागि प्रयोग गर्ने गरेको उनको भनाइ छ।
विद्यार्थी र शिक्षकको लागि एउटै भान्सामा खाजा पकाउने गरिन्छ। विद्यालयले एउटै भान्सामा टिचर र विद्यार्थीको लागि खाजा पाक्ने गरेपनि विद्यार्थीको खाजा कसैले नखाएको र शिक्षकहरूले छुट्टै खाजा कोष खडा गरेको दावी गरेको छ। विद्यालयमा दिउँसोको खाजामा राखिएकी भान्से कर्मचारीको काम विद्यार्थीलाई खाजा बनाएर खुवाएर भाँडाकुँडा सफा गर्ने भएपनि शौचालय सफा गर्नेदेखि अन्य कामसमेत लगाउने गरेका एक शिक्षकले बताए।



