काठमाडौँ- आगामी बजेटमा एसेम्बलिङ उद्योगलाई भन्सार र अन्तःशुल्कमा दिइँदै आएको छुट सुविधा कटौती नगर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ। सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बलिङ उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न लाग्ने महसुलमा विभिन्न छुट र नीतिगत सुविधाको व्यवस्था गरेकाले त्यसलाई यथावत राख्नुपर्नेमा नाडाले जोड दिएको हो।
‘नेपालमा ४ वटा दुईपांग्रे सवारीसाधनको एसेम्बल उद्योगले उत्पादन गरिरहेको, अरु दुई उद्योग तत्काल उत्पादनको अवस्थामा रहेको र केही उद्योग खुल्ने तयारीमा छन्,’ नाडाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही चारपांग्रे सवारीसाधन उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु खुल्ने क्रममा छन्। सरकारले ल्याउन लागेको बजेटमा एसेम्बलिङ उद्योगलाई दिइँदै आएको महसुलमा छुटलगायत नीतिगत सुविधा कटौती गर्न लागेको भन्ने विषयमा नाडाको विशेष ध्यानाकृष्ट भएको छ।’
एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारणले केही सस्तो मूल्यमा सवारीसाधन प्राप्त गर्ने मात्र नभई थप रोजगारी सिर्जना हुने र विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्रविधिज्ञको क्षमता विकासमा ठूलो सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ। सुविधा कटौती गर्ने नीति ल्याइए त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका व्यवसायीहरुको धेरै लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकीकरण पछाडि धकेलिने नाडाको भनाइ छ।
सरकारले तत्कालको समस्या अर्थात् राजस्वलाई मात्र दृष्टिगत गरी नीति बनाउँदा त्यसको दीर्घकालीन असरलाई पनि ध्यान दिनुपर्ने नाडाको भनाइ छ। ‘यस्ता विभिन्न वस्तुगत तथ्यलाई मनन गर्दै आगामी वर्षको बजेट तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस् भन्ने नाडाको धारणा छ,’ विज्ञप्तिमा भनिएको छ।


