काठमाडौँ- नेपाल बार एशोसिएशनको भावी नेतृत्वका चयनका लागि मतदान जारी छ। शनिवार बिहान ८ः०० बजेदेखि मतदान सुरू भएकाे मतदान दिउँसो ४ बजेसम्म चल्नेछ।
मतदान गर्नका लागि कानुन व्यवसायीहरू बिहानैदेखि लाइनमा बसेर पालो कुरिरहेका छन्।
भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यद्यपि बारकाे भावी अध्यक्षका लागि ५ जनाको उम्मेदवारी छ।
नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका छन्। उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन्।
काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतको परिसरमा रहेको छ। यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन्।


