काठमाडौँ– नेपाल ग्रामीण चलचित्र महोत्सवको चौँथो संस्करण आउँदो वैशाख ४ देखि ६ गतेसम्म आयोजना हुने भएको छ। यस पटक महोत्सव गोसाइँकुण्ड गाउँपालिका रसुवामा सम्पन्न गर्ने गरी तयारी गरिएको आयोजकले जनाएको छ।
सेलिब्रेटी नेपालको आयोजनामा नियमित रूपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारको पहुँचमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।
महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समावेश गरिनेछ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजित यस महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ।
विगत चार वर्षदेखि विभिन्न जिल्लामा आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू देखाइँदै आइएको छ।
महोत्सवमा फिल्म स्क्रिनिङ्गसँगै ग्रामीण परिवेशलाई कसरी फिल्मका पर्दामा समेट्ने र फिल्मको माध्यमबाट नेपालका पर्यटकिय स्थलहरुको प्रमोशन गर्नेलगायतका विषयमा अन्तर्क्रिया समेत गर्ने तयारी आयोजकको छ। अन्तर्क्रियामा काठमाडौंबाट जाने चलचित्रकर्मी, पत्रकार, स्थानिय राजनीतिक दलका नेताहरूलगायत सहभागी हुनेछन्।
पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेँसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो। ती सबै आयोजित कार्यक्रम सफल भएको आयोजकले जनाएको छ।
दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए।
यसपटक महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिशेष महत्व राख्ने र जिल्लालाई देश तथा विदेशमा समेत चिनाउने आयोजकले दाबी गरेको छ।


