पोखरा- अनलाइनबाट बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट तथा भाइबरमार्फत बालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभनमा पारी अश्लील कुराकानी तथा भिडियो च्याट गरी रेकर्ड गर्न आग्रह गरेका थिए। तर पीडितले यस्तो कार्य गर्न नमानेपछि युवकले धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न म्यासेज गरी मानसिक दु:ख दिएको आरोप लागेको छ।
युवकले चरित्रहत्या गरेको जाहेरी पीडितले नेपाल प्रहरीलाई दिएपछि साइबर ब्युरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा युवकलाई पोखराबाट पक्राउ गरेको हो।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।



