गोरखा- २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो।
गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालयबीच वि.सं. २०७३ बैशाख १२ गतेको त्रिपक्षीय सम्झौता अनुसार गोरखा जिल्लाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमूना बस्ती अझै खाली छ।
धार्चे गाउँपालिका वडा नं. ४ गुप्सीपाखामा करिब ३२६ रोपनी क्षेत्रफलमा लाप्राकीका लागि नमूना बस्ती निर्माण गरिएको हो।
कूल ६०४ घरधुरी रहेको सो नमूना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भूकम्प राहत कोषबाट बनेको हो।
बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ। अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरूको प्राथमिकतामा पर्दैनन् नमूना बस्तीका घरहरू।
६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन्। एनआरएनएले बस्ती निर्माणमा गरेको बदमासी प्रस्ट रुपमा देख्न सकिन्छ। प्लाष्टिकको झ्याल ढोका, चार जना परिवारको लागि पनि सानो हुने घर, पूर्ण रूपमा निर्माण सम्पन्न नगरिएको प्रस्ट देखिन्छ।
अहिले बस्तीमा बसिरहेका परिवारले पनि सो घर बस्नलायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नु परेको ४ नं. वडाका अध्यक्ष किसान गुरुङले बताए।
काठको झ्यालढोका राख्नेदेखि ढुंगा छाप्न, घरको भित्रि संरचना निर्माण गर्न खर्च गर्नु परेको उनले सुनाए।
लाप्राक गाँउ पहिलेदेखि पहिरोको जोखिममा रहेको भएता पनि स्थानीयहरूको खेतीबाली गाँउमै हुनाले पनि नमूना बस्तीमा खासै बस्ने नगरेको गुरुङले बताए।
तस्बिरहरूः


