काठमाडौँ- नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। अण्डाको लागत मूल्यसमेत नपाउँदा संकटमा परेका किसानलाई केही राहत मिलोस् भन्ने उद्देश्यले मूल्य समायोजन गरिएको हो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार शनिबार सम्पन्न छलफलपछि आइतवारदेखि नयाँ मूल्य लागू गरिएको छ। ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० गोटा) रु चार सय ३०, मध्यम अण्डाको रु तीन सय ८० र ‘एक्सएल’ अण्डाको रु चार सय ५० कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य रु तीन सय ५० मा झरेको थियो।
फार्म मूल्य अनुसार ‘एक्सएल’ अण्डाको प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठूलो अण्डाको रु तीन हजार र मझौलाको रु दुई हजार ६५० कायम गरिएको छ। उत्पादन लागत प्रतिगोटा रु १६ दशमलव ५६ पर्ने अण्डाले पछिल्लो समय बजारमा लागतभन्दा कम मूल्य पाउन थालेपछि किसान निराश बनेका थिए।
अध्यक्ष पोखरेलले गर्मीका कारण कुखुरामा रोग बढेर उत्पादन घटेको र माग उच्च बनेका कारण अण्डाको मूल्य उकालो लागेको जानकारी दिएका छन्। उनका अनुसार अघिल्लो वर्ष उच्च मूल्य हुँदा ठूलो अण्डाको प्रतिपेटी रु तीन हजार छ सय ७५ पुगेको थियो।
यसअघि फागुनमा पनि अण्डाको मूल्य बढाइएको थियो।
सङ्घका सचिव मदन पोखरेलले कुखुराको संख्या घटेपछि उत्पादनमा गिरावट आएको र माग बढेकाले अण्डाको मूल्य क्रमशः वृद्धि हुने संकेत देखिएको बताएका छन्। हाल दैनिक करिब ३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ।
नेपालमा कुखुरापालन व्यवसायीले लागत मूल्य नपाउँदा धेरै किसान व्यवसाय छाड्न बाध्य भएका थिए। अण्डाको मूल्य समायोजनले अहिले किसानलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।


