काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
गभर्नरमा कांग्रेसले सिफारिस गरेका व्यक्तिलाई नबनाउन ढिलाई गरिरहेको विषयमा कांग्रेसमा असन्तुष्टि बढिरहेका बेला ओलीले मन्त्रिपरिषद् बैठक र त्यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। गभर्नर सिफारिस समितिको बैठक त्यसको एक घण्टा अघि बोलाइएको छ।
गभर्नर नियुक्तिमा ओलीले अडान दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो। सोमवार मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओलीले देउवालाई बालुवाटार बोलाएका थिए। तर गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाउने तर फेरि छलफलका लागि मात्र बोलाउने भन्दै ओलीले बोलाएको बैठकमा नै सहभागी भएनन्।
मंगलबार ओली र देउवाबीच झन्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानी पछि ओली गभर्नर सिफारिस समितिको बैठक बोलाउन सहमत भएर अर्थमन्त्री पौडेललाई समितिको बैठक बोलाउन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशन अनुरूप गभर्नर सिफारिस समितिको बोलाइएको हो।
स्रोतका अनुसार डा विश्वनाथ पौडेललाई गभर्नर बनाउन ओली र देउवा सहमत भइसकेका छन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए।
देउवाले गभर्नर बनाउन चाहेका नेपाल राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक डा गुणाकर भट्टका विषयमा ओली सकारात्मक नभएर प्रक्रिया नै अड्काएपछि देउवाले पौडेललाई अघि सारेका थिए।
सिफारिस समितिमा बसेका डा पौडेललाई राजीनामा गर्न लागएर गभर्नरमा अघि सारिएको हो।


