जकार्ता- इन्डोनेसियाले आफूलाई एसिया–प्रशान्त क्षेत्रको प्रमुख कार्बन भण्डारण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यस उद्देश्यले नविकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने अवसरहरू सिर्जना हुने विश्वास गरिएको छ ।
इन्डोनेसियाका नविकरणीय ऊर्जा तथा ऊर्जा संरक्षण महानिर्देशनालयका जैविक ऊर्जा निर्देशक एडी विबोवोले भने, ‘हाम्रो देशमा जलाशयहरूमा लगभग ५७२ दशमलव ७७ गीगाटन कार्बन भण्डारण गर्ने क्षमता छ। साथै, प्रयोग भइसकेका तेल तथा ग्यास भण्डारहरूमा पनि करिब चार दशमलव ८५ गीगाटन कार्बन भण्डारण गर्न सकिने सम्भावना छ।यसका आधारमा इन्डोनेसिया क्षेत्रीय कार्बन भण्डारण सेवाको केन्द्र बन्ने उच्च सम्भावना बोकेको छ।’
कार्बन भण्डारण प्रविधिले विद्युत उत्पादन, यातायात र औद्योगिक क्षेत्रमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान हुने उनको भनाइ छ। यसले इन्डोनेसियाको हरितगृह ग्याँस न्यूनीकरणसम्बन्धी राष्ट्रिय योजना अनुरूप काम गर्न सहयोग हुने विश्वास गरिएको छ।
‘इन्डोनेसियाको नविकरणीय ऊर्जा सम्भावना तीन हजार ६८० गीगावाटभन्दा बढी छ, तर हालसम्म जम्मा शुन्य दशमलव तीन प्रतिशत मात्र उपयोग गरिएको छ,’ उनले भने, ‘नविकरणीय ऊर्जा क्षेत्रमा लगानी र विकासको विशाल सम्भावना छ।सरकारले आर्थिक विकास र वातावरणीय दिगोपनालाई सन्तुलनमा राख्दै नविकरणीय ऊर्जा स्रोतहरूको व्यापक प्रयोगको लागि अवसरहरू खुला गरिरहेको छ।’


