काठमाडौँ- आईपीओ स्वीकृतिका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन दिनुपर्ने अवस्था आएको भन्दै लगानीकर्ताहरूले गुनासो गरेपछि अख्तियारले यो विषयमा चासो दिएको छ।
आईपीओ स्वीकृतिका लागि कमिसन घुसका रूपमा दिनुपर्ने अवस्था आएको भन्दै लगानीकर्ताहरूले सार्वजनिक रूपमा नै बताउन थालेपछि अख्तियारले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बयान लिएको हो। अख्तियार टोलीले सेबोनका कार्यालयका कागजात पनि लिएर गएको बताइएको छ।
अख्तियारले मंगलबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग बयान लिएको थियो।
अख्तियार टोलीले ५ घण्टासम्म सेबोनमा बसेर बयान लिएको थियो। मंगलबार सेबोनका पदाधिकारीलाई बोलाएरै सोधपुछ गरिएको बताइएको छ।
सेबोनमा आईपीओ निष्कासनको पालो कुरेर बसेका कम्पनीहरू ७५ पुगेका छन्।
लामो समयदेखि पाइपलाइनमा बसेका कम्पनीहरू आईपीओका लागि अल्झाएर राखिएको आरोप बोर्डमाथि छ।


