सान डिएगो- अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बिहान बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३:४७ बजे विद्युत्को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो। विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको जनाइएको छ।
विमान चर्चित संगीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो। दुर्घटनामा उनीसहित अन्य पाँच जनाको पनि ज्यान गएको छ। सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ। तर, जमिनमा रहेका मानिसमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
संगीत संस्था साउन्ड ट्यालेन्ट समूहले वक्तव्य जारी गर्दै भन्यो,’हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ। यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।’
दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ। सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ।
सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ।


