काठमाडौंः अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्। अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो।
ट्रम्प प्रशासनले अमेरिकामा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरूमाथि निगरानी बढाइरहेको सन्दर्भमा अमेरिकामा अध्ययन गर्न चाहने विदेशी नागरिकहरूका लागि पनि अस्थायी रुपमा भिसा प्रक्रिया रोकेको सार्वजनिक समाचारहरुमा उल्लेख गरिएको छ।
गत हप्ता मात्र ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको समाचार बाहिरिएको थियो। यद्यपि एक संघीय न्यायाधीशले उक्त निर्णयलाई तत्कालका लागि स्थगित गर्न आदेश दिएका छन्।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिका पुग्ने व्यक्तिहरुले अमेरिकी कानुन बुझ्नुपर्नेमा जोड दिएकी थिइन्। ‘यदि तपाईं अमेरिकी भिसाका लागि आवेदन दिँदै हुनुहुन्छ भने, सामान्य प्रक्रिया अपनाउनुहोस्, सबै चरणहरू पूरा गर्नुस् र जाँचको सामना गर्न तयार हुनुस्,’ उनले भनिन्।







