काठमाडौँ- राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी समूहहरूले शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्।
उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन प्रदर्शन गर्ने घोषणा अनुसार बिहीबारदेखि सुरु गरिएको प्रदर्शन शुक्रबार पनि जारी रहेको छ।
राजावादीको दोस्रो दिनको आन्दोलनका कारण माइतीघर-बानेश्वर क्षेत्रको यातायात प्रभावित बनेको छ।
प्रदर्शनकारीहरूले माइतीघरबाट बबरमहलसम्म जुलुस निकालेर आफ्नो माग राखेका छन्। यस कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरू सहभागी छन्। बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका उनीहरू शुक्रबार माइतीघरमा भेला भएका हुन्।
देशका विभिन्न जिल्लाबाट राजावादी पार्टी तथा समूहका समर्थकहरू पनि प्रदर्शनमा सहभागी हुन काठमाडौं आएका छन्। उनीहरूले आगामी दिनहरूमा पनि प्रदर्शन जारी राख्ने बताएका छन्।


