काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको सम्बन्धमा दरार आएको छ। उनीहरूको व्यक्तिगत आरोपप्रत्यारोपसम्मको तहमा और्लिएको हो।
पछिल्लो केही दिनयता यी दुईबीच सामाजिक सञ्जालमा चर्काचर्की छ। यसको असर अमेरिकी राजनीति र प्रविधि उद्योगमासमेत फैलिएको छ।
ट्रम्प–मस्क द्वन्द्वको सुरुवात बजेटसम्बन्धी विषयबाट भएको हो। ट्रम्पले प्रस्तुत गरेको ‘बिग ब्यूटिफुल’ भनेको बजेटलाई मस्कले ‘घिनलाग्दो’ भन्दै सार्वजनिक आलोचना गरेका थिए। यसपछि ट्रम्पले मस्कको टिप्पणीले आफू ‘धेरै निराश’ भएको प्रतिक्रिया दिएका थिए। ट्रम्पले इलेक्ट्रिक गाडीमा दिइने कर छुट हटाउने प्रस्ताव गरेपछि यो विवाद थप चर्किएको हो। विद्युतीय गाडीमा कर छुट हटाउँमा मस्कका टेस्लालगायतका कम्पनीलाई असर पर्न सक्छ।
मस्कले भने आफ्नो असहमति सरकारी खर्च र घाटाका विषयमा मात्र रहेको जिकिर गर्दै आएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा उनले उक्त विधेयक पारित भएमा ‘कांग्रेस (अमेरिकी संसद) ले अमेरिकालाई भित्तामा पुर्याउँदैछ’ भन्ने टिप्पणी गरे। मस्कले ट्रम्पमाथि व्यक्तिगत आरोप समेत लगाउँदै, उनलाई चर्चित ‘एपस्टिन फाइल’सँग जोड्न सक्ने चेतावनी दिए।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मस्कलाई “क्रेजी” भएको आरोप लगाएका छन्। ट्रम्पले मस्कका सरकारी अनुदान र ठेक्काहरू हटाउने चेतावनीसमेत दिएका छन्। जसको असर टेस्ला र स्पेसएक्स जस्ता कम्पनीमा देखिएको छ। यसैबीच, टेस्लाको शेयर मूल्य १४% ले घटेको छ, जसले मस्कलाई ठूलो आर्थिक क्षति पुर्याएको छ।
मस्कले भने ट्रम्पलाई आफूले सहयोग नगरेको भए ट्रम्प चुनाव जित्न नसक्ने दाबी गरेका छन्।
ट्रम्प–मस्क विवादले अमेरिकी प्रविधि उद्योग र राजनीतिक वृत्तमा तरंग ल्याएको छ। विश्लेषकहरूका अनुसार, यसले सरकारी नीतिमा समेत असर पार्न सक्छ। दुवै पक्षबाट सार्वजनिक आरोप–प्रत्यारोप जारी रहेकाले आगामी दिनमा यो द्वन्द्व अझ चर्किन सक्ने अनुमान गरिएको छ।


