काठमाडौँ- राप्रपा र रास्वपाका सांसदहरूले प्रतिनिधि सभामा रोस्ट्रम घेराउ गरेका छन्।
गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्नका लागि सभामुख देवराज घिमिरेले समय दिएपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरेका हुन्।
‘हाम्रो आन्दोलन जारी’, ‘छानबिन समिति गठन’, ‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई कारवाही गर’लगायतका नाराबाजी गरेका थिए। विरोध गरेकै अवस्थामा लेखकले सम्बोधन सकेका थिए।
रास्वपाको विरोध जारी हुँदाहुँदै पनि गृहमन्त्री लेखकले सम्बोधन गरिरहेका छन्।
यसअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोलेको समयमा पनि राप्रपा र रास्वपाले विरोध गरेका थिए।
तर राप्रपाका राजेन्द्र लिङ्देनले बोलेको समयमा रास्वपाका नेताहरूले विरोध जनाएका थिएनन्। यसपछि रास्वपाका मनीष झाले बोलेका थिए। उनले आफूहरूको विरोध कायमै रहेको बताएका थिए।
त्यसपछि रास्वपा सांसदहरूले सदनमा नाराबाजी थालेका थिए।
सत्तापक्षका तर्फबाट नेकपा एमाले र विपक्षीका तर्फबाट माओवादी केन्द्र सदन खुलाउन सहमति गरेपनि राप्रपा र रास्वपाले विरोध कायमै राखेका छन्।
१३ गतेदेखि अवरुद्ध संसदमा शुक्रवार पहिलोपटक विरोध हुँदाहुँदै पनि कामकारवाही अघि बढाइएको हो।
एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकहरुले गरेको सहमतिमा गृहमन्त्री लेखकले राजीनामा पनि दिन पर्ने र छानबिन समिति बन्ने विषय सहमतिमा उल्लेख छैन। यसअघि माओवादीले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने माग राखेको थियो। अब यी दुवै विषयमा प्रतिपक्षीको स्वर कमजोर हुने भएको छ।
गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि सुरू भएको भिजिट भिसा प्रकरणमा लेखकको राजीनामा माग गर्दै आएका थिए।
तस्बिरमा सदनको नाराबाजी


