काठमाडौँ- कुनैबेला हनुमानढोका भन्ने बित्तिकै मानिसहरू प्रहरी कार्यालय सम्झन्थे। कसैलाई सुरक्षा चुनौती महसुस भए पुग्थे।
हुन पनि प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धान महाशाखा रहेको त्यो कार्यालय कामको चापका दृष्टिले प्रहरीको हेडक्वार्टर जस्तै थियो। यो प्रहरी कार्यालयमा मानिसको घुइँचो थेगिनसक्नु हुन्थ्यो। युनेस्को विश्वसम्पदामा सूचीकृत बसन्तपुर दरबार स्क्वायर हनुमानढोका प्रहरी कार्यालयको आडैमा थियो। दरवार क्षेत्रको सुरक्षाको जिम्मा पनि यसैको थियो।
२०७२ को भूकम्पपछि भने परिदृष्य फेरियो। भूकम्पका कारण भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो। त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ।
भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ मा स्थापना भएको यो कार्यलयमा रातो स्टिकर लगाइएको छ। चर्किएको भवन भएकाले मानिसहरू यो कार्यालय नजिक जान डराउँछन्।
स्थानीय र पुरातत्त्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला संरक्षण क्षेत्र बनाउन माग गरेका छन्। तर प्रहरी प्रशासनले सोही जग्गामा पर्यटक प्रहरी चौकी वा प्रहरी संग्रहालय बनाउने योजना ल्याएको छ। त्यहाँको पनि जग्गा प्रहरीकै नाममा भएको बताइएको छ।


