काठमाडौँ- एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ। सिंगापुरले दिएको १३९ रनको सामान्य लक्ष्य नेपालले ६ विकेट र १६.३ ओभर बाँकी छँदा नै भेट्टाउन सफल रहँदै विजयी भएको हो।
नेपालका ओपनर प्रसिद्ध जैसीले अर्द्धशतक बनाएका थिए। नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ९ रन बनाएर घाइते भएपछि मैदानबाट बाहिरिएका थिए।
उनी मैदानबाट बाहिरिएपछि प्रसिद्ध र रौनक श्रीवास्तवले बलियो साझेदारी गरे। श्रीवास्तवले ४४ बलमा ४० रन जोडे। प्रसिद्ध र रौनकको साझेदारीले नै नेपाललाई जिततर्फ डोहोर्यायो।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनाएको थियो। सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए।
त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए। सिङ्गापुलाई एक सय ३८ रनमा समेटने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए। त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ।
नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन्।
त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।


