दोहा- इरानले कतार र इराकमा रहेका अमेरिकी हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको छ। सोमवार इरानले दुवै देशका अमेरिकी अड्डाहरूमा आक्रमण गरेको हो।
यो आक्रमणलाई इरानले ‘ओ अबु अब्दुल्लाह’ नाम दिएको छ। यसको अर्थ ‘विजयको आशिर्वाद’ भन्ने हुन्छ।
कतारले आफ्नो देशमा रहेको अमेरिकी अड्डामा आक्रमण भएको पुष्टि गर्दै उपयुक्त समयमा प्रतिकार गरिने चेतावनी दिएको छ।
इरानी राज्य सञ्चारमाध्यमका अनुसार शनिबार आफ्नो देशका आणविक क्षेत्रमा भएको हमलाको प्रत्युत्तर इरानले दिएको हो।
अमेरिका नियन्त्रित अल उदाइड बेसमा आक्रमण भएको जनाएको छ। आक्रमणबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।
कतारको राजधानी दोहासम्म त्यहाँ भएको विस्फोटको आवाज सुनिएको अलजजीराको समाचारमा उल्लेख छ।
कतारमा रहेको अमेरिकी सेनाको अड्डामा गरिएको उक्त आक्रमणको निशाना आकाशमा देखिएका थिए।
हमलापछि कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। त्यहाँ रहेका अमेरिकी र बेलायती नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिइएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा बोलाएका छन्।


