काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसका अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक गरेको छ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो।
यस योजना अन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन्।
खेतियोग्य जमिन सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाएर कृषि पेसा मर्यादित र व्यावसायिक बनाइ कृषकलाई प्रोत्साहन गर्न यो कर्जा योजना सार्वजनिक गरिएको बैंकको भनाइ छ।
साथै, राष्ट्रिय धान दिवसका अवसरमा बैंकले टोखा नगरपालिका–१ राधाकृष्ण मन्दिर नजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ आयोजना गरेको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता थियो।
कार्यक्रममा बैंक सीईओ रेग्मीले नेपाल सरकारको रणनीति अनुसार धान उत्पादन वृद्धि गर्न, कृषि आधुनिकीकरण तथा व्यावसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रम आयोजना गर्ने गरेको उल्लेख गरे।
साथै, बैंकले आजै सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धान उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।


