काठमाडौँ- कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ।
रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो। यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ।
निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन्।
प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ। प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन्।
क्रिकेट मैदानको काम सम्पन्न गर्न भने लामो समय लाग्ने भएको छ।
चालु आर्थिक वर्षभरमा सक्नका लागि समय दिइएको भएपनि उक्त सयममा काम नसकिने सहरी विकास मन्त्रालय जानकारी दिएको हो।
२०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरी असार मसान्तसम्म पुर्याइएको थियो।
गत वर्ष असार २९ मा केपी शर्मा ओली नियुक्त भएपछि ३ सय दिनमा त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट जडान गर्ने निर्णय गरेका थिए। तर उक्त निर्णय गरेर लामो समयसम्म प्रक्रिया अघि नबढाउँदा ओलीको उक्त निर्णय पनि समयावधिमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको हो।
यो मैदानको काम सक्न सुरुमा वैशाख २४ सम्मको मिति तय गरिएको थियो। तर सो मितिमा सम्पन्न नहुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सक्न निर्देशन दिएका थिए।
हाल त्रिवि मैदानमा प्याराफिटको ७० प्रतिशत र फ्लडलाइटको २० प्रतिशत काम सकिएको छ।
स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले यो काम अर्को आर्थिक वर्षसम्म लम्बिने बताएका छन्।
‘प्राविधिक र प्राकृतिक कारणहरूले गर्दा तोकिएको समयमा आयोजना सम्पन्न नभएको हो,’ उनले भने।


