काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ।
कार्तिक १९ गतेसम्म कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ छ। गत वर्षको सोही अवधिको कम्पनीको सेयर मूल्य ४६ हजार ५०० रुपैयाँ थियो।
युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
कम्पनीका सेयरधनीहरूले हरेक वर्ष आकर्षक लाभांश पाउँदा सेयरमा लगानी गर्ने उत्साह बढेको छ। दोस्रो कारण, बजारमा सेयरको कम उपलब्धता हो।
कम्पनीका अधिकांश सेयर संस्थापक समूहकै नाममा भएका कारण दोस्रो बजारमा थोरै मात्र सेयर खरिद–बिक्री हुने गर्छ, जसले सेयर मूल्यमा स्थिरता र उच्च मूल्य कायम राख्न मद्दत पुर्याएको छ।
युनिलिभरले अन्य धेरै कम्पनीहरू जस्तै बोनस सेयर वितरण नगरी नगद लाभांशमा जोड दिँदै आएको छ। यसै कारण कम्पनीले विगत पाँच वर्षमा आफ्ना सेयरधनीहरूलाई आकर्षक नगद लाभांश वितरण गरेको छ।
गत आर्थिक वर्ष २०८२–०८३ मा युनिलिभरले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
पाँच वर्षमा युनिलिभरको लाभांशको अवस्था
आर्थिक वर्ष २०७८/०७९ मा १२ सय १५, २०७९/०८० मा १५ सय ८०, २०८०/०८१ मा १७ सय १४ र २०८१/०८२ मा युनिलिभरले प्रतिकित्ता १८ सय ४२ रुपैयाँ नगद लाभांश वितरण गरेको छ।
यो अहिलेसम्मकै उच्चत लाभांश हो। आर्थिक वर्ष २०८२–०८३ मा १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यद्यपि, कम्पनीको खुद नाफा भने १६ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ खुदनाफा कमाएको थियो।
कम्पनीको खुद नाफामा कमी आउनुमा मुख्यतया दुईवटा कारणहरू रहेको कम्पनीले जनाएको छ।
गत अगस्ट २६ मा गएको भोटेकोशी बाढीका पीडितहरूको राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड नगद र करिब १ करोड रुपैयाँ बराबरका अत्यावश्यक घरायसी तथा व्यक्तिगत सरसफाइका सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको थियो।
दोस्रो, कच्चा पदार्थको लागतमा देखिएको निरन्तरको मूल्यवृद्धि र प्रतिकूल बिक्री मिश्रणका कारण व्यावसायिक लागत बढेर नाफामा दबाब पुगेको कम्पनीको भनाइ छ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३ करोड ७० लाख रुपैयाँ रहेको आम्दानी १२ प्रतिशत बढेर २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
चालू आर्थिक वर्षमा कम्पनीको कुल खर्च १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ। यसमध्ये कच्चा पदार्थ तथा सामग्री उपभोगमा मात्रै १ अर्ब ३० करोड २० लाख रुपैयाँ खर्च भएको छ। त्यसैगरी, कर्मचारी सुविधामा १८ करोड ३८ लाख र अन्य खर्चमा ३४ करोड १३ लाख रुपैयाँ खर्च भएको वित्तीय विवरणमा उल्लेख छ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी २७४ रुपैयाँ रहेको छ।
वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १ हजार ६७८ रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वार्षिकीकृत आम्दानी १ हजार ८८४ रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ पनि घटेर ५ हजार ८३० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो नेटवर्थ ६ हजार ३ रुपैयाँ थियो। त्यसैगरी कम्पनीको चालू सम्पत्ति र चालु दायित्वको अनुपात अर्थात् चालु अनुपात २.४३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात २.५४ थियो।
८ अर्बभन्दा बढी सम्पत्ति
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ८ अर्ब ७ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनात्मक अवधिमा यस्तो सम्पत्ति ८ अर्ब २२ करोड ९४ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल सम्पत्ति १५ करोड ९१ लाख रुपैयाँले घटेको छ।
कम्पनीको कुल चालू सम्पत्ति ६ अर्ब ७ करोड ४५ लाख रुपैयाँ छ। यसमा नगद तथा नगदसमकक्षी २ अर्ब ४९ करोड ८६ लाख, मौज्दात १ अर्ब ३१ करोड ८२ लाख, व्यापार तथा अन्य प्राप्ति १ अर्ब ५२ करोड १९ लाख र मुद्दती निक्षेपमा गरिएको लगानी ६० करोड ११ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको गैरचालू सम्पत्ति १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ छ। यसमध्ये सम्पत्ति, प्लान्ट तथा उपकरणमा १ अर्ब ६९ करोड १ लाख र प्रयोग अधिकारसम्बन्धी सम्पत्तिमा २८ करोड ९२ लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल स्वपुँजी (इक्विटी) ५ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ र सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ रहेको छ। कुल दायित्व २ अर्ब ७० करोड २५ लाख रुपैयाँ छ।
युनिलिभर नेपाल सन् १९९२ देखि नेपालमा उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी हो। कम्पनीको मूल संरचना युनिलिभर नेदरल्यान्ड र यूकेमा रहेको छ।
नेपालस्थित व्यवसायमा हिन्दुस्तान युनिलिभर इन्डिया ले करिब ८० प्रतिशत लगानी गरेको छ। युनिलिभरमा नेपाली साझेदार व्यवसायी रविभक्त श्रेष्ठको पाँच प्रतिशत स्वामित्व छ।
कम्पनीसँग १७ प्रमुख ब्रान्ड छन्। जसमा कपाल, छाला, मुख–दाँतको हेरचाह तथा घर सफा गर्ने सामग्रीहरू पर्छन्। वार्षिक उत्पादन करिब २७ हजार मेट्रिक टन रहेको छ। ती सामान ५० हजारभन्दा बढी पसल तथा डिजिटल माध्यम मार्फत नेपालभरि उपलब्ध गराइन्छ।
नेप्सेमा सूचिकृत कम्पनीहरूमध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो। कुल सूचिकृत सेयर संख्या ९ लाख २० हजार ७०० कित्ता रहेको छ।
जसमा ८० प्रतिशत प्रमोटर समूह र १५ प्रतिशत सर्वसाधारणको नाममा छ। थोरै सेयर मात्र बजारमा उपलब्ध हुँदा कारोबार संख्या न्यून रहन्छ र मूल्यमा ठूलो उतारचढाव देखिँदैन।
बलियो व्यवस्थापन, स्थिर प्रतिफल, र लगानी सुरक्षित हुने विश्वासले कम्पनीलाई ‘ब्लूचिप’ कम्पनीको रूपमा चिनाएको छ। युनिलिभर नेपालका सेयरधनीहरूले उच्च लाभांश र दीर्घकालीन लगानी सुनिश्चित हुने भएकाले यस कम्पनीको सेयरमा लगानी गर्न आकर्षण कायम छ।


